
पूर्णपुष्टि, साउन ३० । धरान उपमहानगरपालिका क्षेत्रमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती कर असुली गरिएको विरोधमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापनपत्र बुझाएका छन्। ए.वि. रात देऊ निर्माण सेवा राम धुनीले दैनिक रूपमा प्रति सवारी साधन ७५ रुपैयाँ शुल्क लिने गरेको व्यवसायीहरूको आरोप छ।
धरान वितरक संघका अध्यक्ष तथा मदिरा व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष नवीन तामाङका अनुसार यो शुल्क गुण्डागर्दी शैलीमा असुली गरिएको छ। गत वर्ष एक फर्म एक ढुवानी सवारी साधनलाई दिइएको छुट यस वर्ष हटाइएको छ। व्यवसायीहरूले यो कर कानुन विपरीत भएको र व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न गरेको बताएका छन्। उनीहरूले नियमित रूपमा अन्य सबै करहरू तिरेको दाबी गर्दै, यस प्रकारको अतिरिक्त कर असुली तत्काल बन्द गर्न माग गरेका छन्।
धरान वितरक संघ, मदिरा व्यवसायी संघ, भवन निर्माण व्यवसायी संघ लगायत ६ व्यावसायिक संगठनहरू यस विरोधमा सामेल छन्। व्यवसायीहरूले कर असुली बन्द नगरिए व्यवसाय बन्द गरी तालाचाबी नगरपालिकालाई बुझाउने चेतावनी दिएका छन्।
