Thursday, June 18News That Matters

सन्दिप विरुद्धको मुद्धामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

पूर्णपुष्टि, चैत्र २६ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्धामा पिडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतले आदेश दिएको छ । बलात्कार आरोप लागेका सन्दिपको मुद्धामा पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएपछि स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतले आदेश दिएको हो ।

न्यायाधीश शंकरराज बरालको इजलासले गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटिएपछि सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको हो । हाल स्वास्थ्य परीक्षण गर्ने चिकित्सक बिदामा छन् । साथै अर्को एकजना व्यक्तिको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतबाट सन्दीपलाई ‘विदेशमा समेत क्रिकेट खेल्न जान दिनू’ भन्ने आदेश भएपछि जिल्ला अदालतले पीडित गौशाला २६ सँग सम्बन्धित दुईवटा सुनुवाइ गरेको छ । पहिलो सुनुवाइमा, जिल्ला अदालतले पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो । आइतबार भने दुईजनाको बकपत्र छुटेकाले त्यसलाई समेत समावेश गर्नु भनी इजलासले आदेश गरेको हो । अर्को पेशी तोकिएको छैन ।