Friday, May 1News That Matters

सप्तरीको रुपनी बजारमा रेकर्ड वर्षा, एक घण्टामा ७० मिलिमिटर

पूर्णपुष्टि, साउन २२ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रुपनी बजारमा सोमबार साँझदेखि मंगलबार बिहानसम्म अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार एक घण्टाको अवधिमा ७० मिलिमिटर वर्षा मापन गरिएको छ।

यो मात्रा सन् १९९३ मा कुलेखानीमा भएको क्लाउड बर्स्ट (आरीघोप्टे वर्षा) को ६५ मिलिमिटर भन्दा पनि बढी हो। यसैगरी, गत असारमा कञ्चनपुरको हनुमाननगरमा २४ घण्टामा भएको ४४.२ मिलिमिटर वर्षाको रेकर्डलाई पनि यसपटकको वर्षाले पछि पारेको छ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार अत्यधिक वर्षा भए पनि जिल्लामा कुनै उल्लेख्य क्षति भएको छैन। साना खोलानालाहरुमा बाढी आएको र कोशी नदीको बहाव सामान्य रहेको जानकारी दिइएको छ। सप्तरी प्रहरीका सूचना अधिकारी अवधेश यादवले पनि जिल्लामा वर्षाका कारण डुबान, कटान वा अन्य प्रकारको कुनै क्षति नभएको पुष्टि गरेका छन्।यसैबीच, काठमाडौंमा भने एक घण्टामा २० मिलिमिटरभन्दा कम वर्षा हुँदा पनि विभिन्न स्थानमा सडक, बस्ती र सरकारी कार्यालयहरु डुबानमा परेका छन्।