Friday, July 11News That Matters

सरकारसँगको सहमतिप्रति शिक्षकहरुको असन्तुष्टि, महासंघको विरोध

पूर्णपुष्टि, बैशाख १८ । नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिमा शिक्षकहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले औपचारिक विज्ञप्ति जारी गरी उक्त सहमतिको विरोध गरेको छ ।

शिक्षक र कर्मचारीहरूले ‘हाताहाती ऐन’ को माग राख्दै देशका विभिन्न भागबाट काठमाडौंमा आएर २० चैतदेखि आन्दोलन गरिरहेका थिए । तर उक्त ऐन नै नबनाइकन महासंघ र सरकारबीच सहमति भएपछि कर्मचारीहरूमा असन्तुष्टि बढेको हो ।

नेपाल विद्यालय कर्मचारी परिषदद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’

सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा ऐन निर्माणको कुनै ठोस प्रतिबद्धता नभएकोमा उनीहरूको असन्तुष्टि रहेको छ । शिक्षक महासंघ र सरकारबीच सहमतिसँगै आन्दोलन टुङ्गिएको छ ।