Monday, April 20News That Matters

ससुराको हत्या आरोपमा ज्वाई पक्राउ

पूर्णपुष्टि, असोज ६ । मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका-७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरेको आरोपमा उनका २७ वर्षीय ज्वाइँ रविन राईलाई धनकुटाको मूलघाटबाट आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार बिहान चन्द्रबहादुर तामाङको शव उनकै घरको प्यासेजमा रगताम्मे अवस्थामा फेला परेको थियो। मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु देखिएको र घटनास्थल नजिकै रगत लतपतिएको खुर्पा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पक्राउ परेका रविन र मृतक चन्द्रबहादुर ज्वाइँ-ससुरा नाताका हुन्। दुवै जना शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको र त्यसपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनापछि फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका रविनलाई पथरी ल्याएर थप सोधपुछ तथा अनुसन्धान गर्ने जनाएको छ। मृतक चन्द्रबहादुरकी छोरी (रविनकी पत्नी) विदेशमा रहेको र उनका अन्य परिवारका सदस्यहरू पनि विदेशमै रहेको प्रहरीले जानकारी दिएको छ।