Monday, May 4News That Matters

सहकारी संस्थालाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न महानगरको निर्देशन

पूर्णपुष्टि, असार १३ । सहकारी संस्थाहरुलाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न काठमाण्डौँ महानगरपालिकाले निर्देशन दिएको छ । महानगरको सहकारी विभागले सुचना जारी गर्दै जारी भएको मितिले ३० दिन भित्र साधारण सभा र लेखा परिक्षणको विवरण पेश गर्न लगाएको हो ।

केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी र लेखापरिक्षण प्रतिवेदन लगाएत तोकिए बमोजिमका विवरणहरु समयमा नै पेश गर्ने गरेको नपाईएको सुचना जारी गरिएको विभागले जनाएको छ । विभागले यदी सुचना वेवास्ता गरेमा कानुन वमोजिम कारर्वाही गर्र्ने चेतावनी समेत दिएको छ ।

महानगर सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परिक्षणबाट संस्थाको प्रत्येक आर्थिक बर्षको लेखा परिक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ भने दफा ७९ ले विभिन्न कसुर जन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खरेजीको व्यवस्था गरेको विभागको सुचनामा उल्लेख छ ।

महानगरका प्रमुख बालेन्द्र शाहले समाजिक सञ्जालमा सुचनाबारे जानकारी दिँदै सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् ।