
पूर्णपुष्टि,फागुन ५ । गत बुवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आजै दुईवटा अपरेशन हुने भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारत सांसद भण्डारीलाई विहिवार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।
सांसद भण्डारीसँगै रहेका व्यवसायी योगराज कँडेलका अनुसार भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ । कित्सकलाई उद्धृत गर्दै कँडेलले भने उहाँको शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गरिने बताएको छ । भण्डारीको हृदयको चाल नर्मल रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको कँडेलले बताए ।
सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।
