Thursday, June 18News That Matters

साफ यु–१७ च्याम्पियनसिपमा भुटानमाथि नेपालको फराकिलो जित

पूर्णपुष्टि,चैत्र ९ । बंगलादेशमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालले फराकिलो जित निकालेको छ । बुधबार राती ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई ५–० गाले अन्तरले हराएको छ ।

भुटानसँगको खेलमा नेपाललाई जित दिलाउन वर्षा ओली र सेनु परियारले दुई दुई गोल गरिन् भने दीपा रोकायाले एक गाले गरिन् । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको हो । यो जितसँगै नेपालले दुई खेलबाट तिन अङ्क बनाएको छ । यसअघिको खेलमा भारतले नेपाललाई ४–१ गाले अन्तरमा हराएको थियो ।

भुटानले भने लगातार दोस्रो हार व्योहोर्नु परेको छ । पहिलो खेलमा बंगलादेशसँग ८–० गोल अन्तरमा हारेको भुटान दोस्रो खेलमा नेपालसँग ५–० गोलले पराजित भएको हो । दुई खेल हारेको भुटान ० अकं मै सिमित रहनु परेको छ । बंगलादेशमा आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र रुसको समेत सहभागिता रहेको छ । रुसले पाहुना टोलीको रुपमा सहभागिता जनाएको हो । अब नेपालले अर्को खेल रुससँग खेल्नेछ । सो खेल आईतबार हुनेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।