
पूर्णपुष्टि, माघ २४ गते । बंगलादेशको ढाकामा भईरहेको साफ यू–२० महिला च्याम्पियनसिप लिगको अन्तिम खेलमा आज नेपाल र भारत खेल्नेछ । दुवै देशलाई फाईनल पुग्नका लागी यो खेल महत्वपूर्ण हुनेछ । त्यसमा पनि नेपाल फाईनल पुग्नका लागी भारतलाई हराउनै पर्ने अवस्था रहेको छ ।
चार राष्ट्र सहभागी च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को हार व्याहोरेको नेपालले दास्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । यस्तै भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान ४ अकं भएको घरेलु टोली गोल अन्तरले दोस्रो स्थानमा छ । एक हार र एक जित सहित नेपाल तेस्रो स्थानमा छ ।
भुटान भने दुबै खेलमा हार व्याहोर्दै अंकविहिन रहँदै फाईनल होडबाट बाहिरिसकेको छ भने घरेलु टोली बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने छ । बंगलादेशलाई भने सहज अवस्था रहेकोले भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ । भारत तुलनात्मक रुपमा बलियो प्रतिद्धन्द्धी रहेकोले नेपाललाई फाईनल स्थान प्रवेशको लागी सहज भने छैन । भारत नेपालसँग हारेमा च्याम्यिनसिपबाट बाहिरने हुँदा भारत यो खेल हार्न चाहदैन् । आज हुने खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
