Friday, May 22News That Matters

सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर आमा र छोराको मृत्यु

पूर्णपुष्टि बैशाख ३१ । तेह्रथुममा आगोले जलेर आमा र छोराको मृत्यु भएको छ । छथर गाउँपालिका–३ पन्चकन्या स्थित गढिहातीढुङ्गे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा स्थानीय ५० बर्षीया दिल कुमारी भुजेल र उनको १४ बर्षीय छोरा भुपेन्द्र भुजेलको जली घटना स्थलमा नै मृत्यु भएको हो ।

सोही वनमा लागेको आगोले जली ६० बर्षीय देवेन्द्र नेवार, १५ बर्षीय युबराज श्रेष्ठ, १५ बर्षिय ओम श्रेष्ठ र १७ बर्षीय प्रकाश तामाङ घाईते भएका छन् । मृत्यु भएका दुबै जनाको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ । घाईते भएका तिन जनाको सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् भने नेवारको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

उक्त आगोले सोही स्थान बस्ने तुलसी जंग थापाको फुसको छानो भएको काठपाले बनेको ३ तले पक्की घरमा आगलागी भएको छ । आगलागीबाट घर भित्र भएका अन्नपात, लत्ताकपडा, भाडाबर्तन, ईलेक्ट्रनिकका सामान, नगद सुनचाँदी तथा बिभिन्न कागजपत्रहरु समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजि ६० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीको टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।