
पूर्णपुष्टि, साउन १६ । बुधवार सेयर बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम भएको छ। यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम अघिल्लो उच्च रेकर्ड भन्दा करिब ३८ करोड रुपैयाँले बढी हो।
यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च कारोबार रेकर्ड बनेको थियो। त्यसको तीन वर्षपछि यो नयाँ रेकर्ड कायम भएको हो।बुधवार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा पुगेको छ। १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहेको छ।
सबै क्षेत्रगत सूचकहरू सकारात्मक रहे। विशेषगरी होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। १४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स लगायत रहेका छन्। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, माउन्टेन इनर्जी, शिवम् सिमेन्ट, नेपाल फाइनान्स र अपी पावर शीर्ष पाँचमा रहे।