
पूर्णपुष्टि, ४ चैत्र ।
स्थानीय तह स्वमूल्यांकन प्रणाली (लिजा) मा उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरको ८ पालिका मध्ये जिल्लाको तेस्रो स्थानमा उक्लिएको छ । ‘स्थानीयतह सँस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा लिम्चुङबुङले पहिलेको तुलनामा राम्रो अंक पाए सँगै यो बर्ष कार्य क्षमतामा प्रगति गरेको हो ।
गत आर्थिकवर्ष ०८०–८१ मा ६९.५ प्रतिशत ल्याएको लिमचुङबुङले चालुवर्ष ८९.५ प्रतिशत पुु¥याएर अन्यको दाँजोमा सर्वाधिक प्रगति गरेको छ । गतवर्ष कम अङ्क पाएको यस पालिकाले जनताको कुरा र सुझाव मनन गर्दै शुसासनमा प्राथामिकता दिएको थियो । पछिल्लो बर्ष पालिकाले प्रगतिमय काम गर्दै अंक बढाएको हो । सङ्घीय सरकारले दिने वित्तीय समानीकरण शीर्षकको बजेट निर्धारणमा प्रमुख सूचक मानिने लिजामा कम प्रतिशत ल्याउदा गाउँपालिकालाई घाटा हुने गरेको छ ।
‘विगत वर्षहरुको लिजामा लिमचुङबुङ निकै पछि परेकै हो, तर अघिल्लो वर्षको नतिजाप्रति गाउँलेहरुले धेरै आलोचना गरे’ प्रमुख प्रशासकीय अधिकृत तारा किरन राईले विगत स्मरण गर्दै भने ‘त्यसपछि निकै मेहनेत गरेर समयमै योजना सम्झौता, कार्यान्वयन र भुक्तानी तथा बेरुजु फस्र्यौट, समन्वय, सहकार्य गर्दै प्रभावकारी सेवा प्रवाहजस्ता तोकिएका सूचक पछ्याउँदा अहिले जिल्लाको तेस्रो हुन सफल भयौँ ।’
सङ्घीय सरकारले विभिन्न १० वटा सूचक तोकेर वर्षेनी स्थानीयतहहरुको स्वमूल्याङ्कन गराउँदै आएको छ । शासकीय प्रवन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन र सेवा प्रवाहलाई मन्त्रालयले सूचक बनाएको छ । त्यसैगरी अन्य सूचकहरुमा न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वय रहेका छन् ।
१ सय पूर्णाङ्कका यी १० सूचक प्रत्येकलाई १० प्रतिशत मानेर स्थानीयतहहरु स्वयं आफैले स्वमूल्याङ्कन गर्ने गरी जिल्ला समन्वय समितिमा पेश गर्ने, समन्वयले प्रदेशमा र प्रदेशले सङ्घीय सरकारलाई पेश गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने गरिएको जिल्ला समन्वय समिति उदयपुरका समन्वय अधिकारी गजेन्द्रनाथ शर्माले बताएका छन् ।