
पूर्णपुष्टि, जेष्ठ १८
दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै प्रदशन गरेका छन् । जेठ १३ गते राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले प्रर्दशन गरेका हुन् ।
कोरोनाको महामारीमा चिकित्सक, नर्सहरुले दिनरात नभनी आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरेर काम गरिरहेको बेला यस्ता आक्रमणका घटनाले मनोबल घटाउने काम गरेकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरुको माग छ । बहानामा दोषीलाई उन्मुक्ति दिने काम भए देशब्यापी स्वास्थ्य सेवा ठप्प पार्ने चेतावानी स्वास्थ्यकर्मीहरुले दिएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै उनीहरु बिरोधमा उत्रिएका हुन् ।
नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रदर्शनमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र घोराहीको बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
चिकित्सकको पेशागत सुरक्षाका लागि कडा खालको कानुन ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन दबाबमुलक कार्यक्रम गरेको नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा. कुबेर रेग्मीले बताए । उनले दोषीलाई कारबाही नभए नेपाल चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने चेतावानी समेत दिए ।
