
पूर्णपुष्टि, असार २३
झापामा हरिण मारेर खाएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका-३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् ।
पक्राउ परेका दुबैसहित आठ जनाले अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ ।
हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।
उक्त घटनामा संलग्न रहेका अन्य व्यक्तिहरु फरार रहेका छन्, उनीहरुको खोजी कार्य भइरहेको थापाले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ ।
