Friday, June 19News That Matters

हल्लाको पछि नलाग्न सरकारको आग्रह

पूर्णपुष्टि, चैत ८ गते । 

काठमाण्डौका केही अस्पतालमा कोरोना सक्रमित भेटिएको र उनीहरुको मृत्यु भएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ । नेपालमा अहिलेसम्म एक जना बाहेक कसैलाई कोरोना भएको नपाईएको र एक जना संक्रमित पनि निको भैसकेकाले हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको हो ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ति व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना संक्रमित नरहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म कोरोनाको लक्षण मिलेका ५ सय ४६ सय जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनासँगको लक्षण मिलेपछि काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० जना र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ९ जनालाई आइसोलेशन अर्थात डाक्टरको निगरानीमा राखिएको भएपनि उनीहरुमा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अस्पतालले जनाएको छ ।

कोरोनाको शंका लागेका बिरामीलाई डाक्टरको निगरानीमा राख्ने गरिएको छ भने उनीहरुको नमुना परीक्षण गर्दा कोरोना नभए घर पठाउने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलै मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले नआत्तिन तर सावधानी भने अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

बारम्बार साबुन पानीले हात धुने गर्नाले कुनै पनि सक्रमण फैलिनबाट जोगिन सकिने सरुवारोग विशेषज्ञले बताएका छन् । सरकारले कोरोना प्रभावित देशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइन अर्थात परिवारबाट छुट्टै बस्न आग्रह गर्दै आएको छ ।