
पूर्णपुष्टि, साउन २४ । संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भएरनभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार समितिको बैठकमा सरोकारवालासँग छलफल पछि समिति सभापति राजकिशोर यादवले मन्त्रालयलाई १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको जानकारी दिए।
समितिले नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अहिलेसम्मका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन निर्देशन दिएको छ।
यस्तै समितिले हवाई सुरक्षासम्बन्धी पूर्वका निर्देशनहरूको कार्यान्वयन अवस्था, नेपाल हवाई नीति २०६३ को कार्यान्वयन स्थिति र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी काननू संशोधन र एकीकरण तथा नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने विधेयक संसदमा पेश गर्न निर्देशन दिएको छ।
