
गोठकृष्ण ठकुरी
हामी त
वर्षाभरी ओछ्यानमा पानी परेका मान्छे
हिउँदभरी जाडोमा कुना सरेका मान्छे
गर्मिभरी आगनमा हावा भरेका मान्छे
हामीसँग मात्र दुइ थोक छ ।
एउटा भोट छ
अर्को नागरिकता छ
जस्लाई
आफु भिजेर जोगाएका छाँै
आफु चिसिएर तताएका छाँै
कहिले काहीँ मान्छे खोज्दै आउने
मान्छेहरुलाई देखाउनको लागि
हामी त
मलाई म नचाहिने मान्छे
ऊ लाई ऊ नचाहिने मान्छे
तर
मलाई ऊ चाहिने मान्छे
उलाई म चाहिने मान्छे
हामीसँग अरु पनि छ
जस्तो कि
हजुरले थमाइदिनु भएको तमासुक
हजुरको आदेशमा गोली थापी दिने छाती
हजुरको भाषणमा ताली बजाइदिने हात
हजुरको झुट पत्याइदिने हिम्मत
हामीलाई थाह छ हजुर
हामीले भोट हालेर परिवर्तन हुँदैन
हजुरको सबै कुरा झुट हो
यसो कहिले कहीँ
चुनाब कै नाममा भए पनि
मुख फेर्न पाईन्छ भनेर
पत्याइदिएका हाँै ।
हामी आफैले उकास्न नसकेको जीवनस्तर
हजुरले कहाँबाट सक्नु
त्रियुगा न.पा.–३ उदयपुर
