
पूर्णपुष्टि, १३ साउन । त्रियुगा नगरपालिका ११ नं वडाअध्यक्ष सुमन्त कोईरालाको चुनाव अघिको एउटा भिडियो यतिवेला सामाजिक संञ्जालमा भाईरल बनेको छ । कोईरालाले चुनाव अघि जनतालाई दिएको प्रतिवद्धता एक बर्ष नाघी सक्दा पनि पुरा नगरे पछि उक्त भिडियो बाहिरिएको थियो । सोही भिडियो पछिल्लो समय सामाजिक संञ्जालमा भाईरल भैरहेको छ । कोईरालाले चुनाव अघि एक भिडियोमा गाईघाटको पिपलचोक देखी सिमलटार सम्म जाने बाटोलाई तत्कालै आवश्यक मर्मत र कालोपत्रे निर्माण गर्ने प्रतिवद्धताको संज्ञा जनताहरुलाई दिएका थिए । यो सडक निकै बर्ष अघि देखी अस्तव्यस्त पनि छ । सोही सडकको नाममा जनताहरुलाई अध्यक्ष कोईरालाले भोट माग्ने बाटो त बनाए तर सडक बनाएनन् ।
उक्त सडक भने अझै अलपत्र अवस्थामै छ । वडाअध्यक्ष आफैले भनेका छन् त्यो सडक धुलो र खाल्डोले क्षती ग्रस्त छ, यसले गर्दा जनताहरुलाई मार परेको अवस्था छ । त्यसका लागि मैले जिते भने १५ दिन भित्रमा आवश्यक काम कार्वाही र मर्मतको कार्यलाई अगाडी बढाउने छु । भिडियोमा त सडक बन्यो तर ब्यवहार र काममा भने सडक जस्ताको तस्तै छ । स्थानीय जनताहरुका अनुसार गाईघाट बजारको मुटुमै पर्ने उक्त सडकलाई स्थानीय सरकारले चासो नदिएको जनाए । हिउँदमा धुलो र बर्खामा हिलो सँग त्यहाँको जनताहरुले समस्या ब्यहोरी रहेको अवस्था छ । अझै बिचमा खाल्डोहरुले त कति दुर्घटना समेत निम्ताईराहेको स्थानीयहरु बताउँछन् ।
१५ दिन भित्र निर्माण गर्ने भनिएको सडक एक बर्ष बिति सक्दा पनि कुनै पहल छैन् । कोईरालाले बर्खा अगाबै उक्त सडकको मर्मत संभार गरी बर्खामा जनताहरुलाई सुविधा दिने जनाएका थिए । सोही कुरा आज पुरा नहुँदा कोईराला सामाजिक संञ्जालमा आलोचित समेत बनिरहेको छ । यस भिडियोलाई हेरेर बिभिन्न व्यक्तिहरुले कोईरालाको बारेमा बिभिन्न धारणाहरु राखिएको छ । यस सडक प्रति बिभिन्न व्यक्तिहरुले सामाजिक संञ्जाल र अन्य निकायहरुमा पनि आवाज उठाईरहेको अवस्था छ ।