Tuesday, June 30News That Matters

३ महिनादेखि धारामा लेदो पानी

पूर्णपुष्टि, भदौ ३ गते ।
३ महिनादेखि झापाको भद्रपुर नगरपालिका–८ का बासिन्दा लेदो मिसिएको पानी पिउन बाध्य भएका छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए । ‘लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्यौँ’, उनले भने, ‘तर सुनुवाइ भएको छैन ।’कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए । ‘फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन’, उनले भने ।
धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ। श्रेष्ठले शुद्ध पानी दिन प्रतिबद्धता व्यक्त गरे। १० दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४÷१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउनेलगायत प्रतिबद्धता संस्थानले गरेको छ ।