
- विरशवावु शाही
- पूर्णपुष्टि / उदयपुर असोज १७ ।
गाईघाट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरेका कुल उजुरीमध्ये करिब ७३ प्रतिशत फछ्र्यौट भएका छन् ।
कार्यालयले शुक्रबार उदयपुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार १२ जिल्लाबाट कुल २ हजार २५४ उजुरी प्राप्त भएका थिए। तीमध्ये १ हजार ६४५ उजुरी फछ्र्यौट भएका छन् भने ६०९ उजुरी बाँकी छन्।
जिल्लागत रूपमा पाँचथरको फछ्र्यौट दर सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ। पाँचथरमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ८ र चालू आवमा दर्ता भएका ३८ गरी ४६ उजुरीमध्ये ४२ वटा फछ्र्यौट भएका छन्।
त्यस्तै तेह्रथुममा ८७ प्रतिशत उजुरी फछ्र्यौट भएका छन्। ४६ उजुरीमध्ये ४० वटा फछ्र्यौट भएका हुन्।
उदयपुरमा कुल १११ उजुरीमध्ये ८६ वटा फछ्र्यौट भएका छन्। जिल्लामा अघिल्लो आर्थिक वर्षबाट १९ उजुरी जिम्मेवारी सरेर आएका थिए भने चालू आवमा ९२ नयाँ उजुरी दर्ता भएका थिए। कुल उजुरीमध्ये ७७.५ प्रतिशत फछ्र्यौट हुँदा २५ वटा बाँकी छन्।
उजुरीको संख्याका आधारमा भने सप्तरी सबैभन्दा अगाडि छ। सप्तरीमा ७०४ उजुरीमध्ये ५०० फछ्र्यौट भएका छन् भने २०४ बाँकी छन्। यसको फछ्र्यौट दर ७१ प्रतिशत रहेको छ। सुनसरीमा ४१५ मध्ये ३१३, मोरङमा ३६३ मध्ये २६३ र झापामा २६१ मध्ये १८९ उजुरी फछ्र्यौट भएका छन्।
जिल्लागत रूपमा इलामको फछ्र्यौट दर सबैभन्दा कम ६०.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ। इलाममा ६९ उजुरीमध्ये ४२ वटा फछ्र्यौट भएका छन्।
विषयगत रूपमा संघीय मामिलासम्बन्धी उजुरी सबैभन्दा धेरै ९०२ रहेका छन्। त्यसमध्ये ६१३ फछ्र्यौट भएका छन्। शिक्षासम्बन्धी ५१७ मध्ये ४१९, भूमिसुधारसम्बन्धी २०६ मध्ये १४२, भौतिक पूर्वाधारसम्बन्धी १२३ मध्ये ८८ र वनसम्बन्धी ११७ मध्ये ९३ उजुरी फछ्र्यौट भएका छन्।
कार्यक्रममा सहभागीहरूले उजुरीको अनुसन्धान तथा फछ्र्यौटमा ढिलाइ हुने गरेको गुनासो गरेका थिए। जवाफमा अख्तियार इटहरीका प्रमुख सहसचिव यज्ञ पुरीले १२ जिल्लाको कार्यक्षेत्र हेर्नुपर्ने भए पनि कार्यालयमा जम्मा १५ जना अनुसन्धान अधिकृत रहेकाले अनुसन्धानमा समय लाग्ने गरेको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले कोशी प्रदेशका ११ जिल्ला तथा मधेस प्रदेशको सप्तरी गरी १२ जिल्लालाई आफ्नो कार्यक्षेत्रमा समेट्दै आएको छ।
