
पूर्णपुष्टि, साउन ३२
अवको तीन दिन देशभर मनसुन सक्रिय रहने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेकाले अबको तीन दिन मनसुन सक्रिय रहने छ ।
आगामी तीन दिन प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनएको छ । यस अवधिमा दिउँसो भन्दा रातको समय वर्षा लामो समय हुने छ । विभागले प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।
