
पूर्णपुष्टि, माघ २७ गते । साउदी प्रो लिगमा रोनाल्डोले ४ गोल गर्दा अल नसरले सहज जित निकालेको छ । बिहिबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा अल नसरले ४–० गोलले अल वेह्दलाई हराएको छ । अल नसरलाई जित दिलाउन रोनाल्डो एक्लैले ४ गोल गरेका छन् ।
खेलको २१ औं मिनेटमा गोल गर्दै अल नसरलाई सुरुवाती आग्रता दिलाएको रोनाल्डोेले ४० औं मिनेटमा दोस्रो गोल गरे भने ५३ औं मिनेटमा पेनाल्टिबाट ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ६१ मिनेटमा चौथो गोल गरेका हुन् । रोनाल्डोले अल नसरमा पहिलो ह्याट्रिक गरेसँगै करियरको ६१ औं ह्याट्रिक पुरा गरेका छन् । नासरका लागि पहिलो गोल गर्दै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरेका छन् ।
रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् । यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ गोल गरेका छन् । उनले रियलका लागि सर्वाधिक ४४ ह्याट्रिक गरे भने पोर्चुगलको लागि १० ह्याट्रिक गरेका छन् । म्यानचेष्टर युनाइटेड र युभेन्ट्सबाट समान ३ ह्याट्रिक गर्दा अल नासरबाट पहिलो ह्याट्रिक गरेका हुन् । जितसँगै नसर १६ खेलबाट ३७ अंक जाड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने १७ खेलबाट समान अकं जोडेको अल शाबब गोल अन्तरमा दोस्रो स्थानमा छ ।
