
पूर्णपुष्टि/उदयपुर, असार ३१ ।
गएको तीनदिनमा परेको अविरल वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–१६ मा सडक, विद्यालय तथा कृषियोग्य जमिनमा व्यापक क्षति पुगेको छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार वडा कार्यालय जाने मुख्य सडकसहित सुकौरा–वडा कार्यालय सडक, सिदाली–आहाले सडक, बेलदोभान–डिहिटार–अम्बोके सडक, बेलदोभान–जाँते–सिद्रे सडक, सरस्वती–मन्धने–फोक्सिन्टार–वडा कार्यालय सडक तथा सुकौरा–बेंग्री–धौरी सडक वर्षाका कारण क्षतिग्रस्त भएका छन् । वडा कार्यालय जाने मुख्य सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ।
यस्तै, माध्यमिक विद्यालय चिलाउने भञ्ज्याङको भवन गेट नजिकैबाट पहिरो खस्दा विद्यालय भवन जोखिममा परेको छ । पहिरोका कारण थप क्षति हुन सक्ने भन्दै स्थानीयमा चिन्ता बढेको छ ।
अविरल वर्षापछि बरुवा खोला, लाटाङ खोला र शाही खोलामा आएको बाढीले कृषियोग्य जमिन कटान गर्नुका साथै लगाइएको बालीसमेत नष्ट गरेको जनाइएको छ । यसबाट किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
विपद्पछि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाउँदै वडाध्यक्ष राईले विपद्को यस कठिन समयमा सबैलाई एकआपसमा हातेमालो गर्दै सामना गर्न आग्रह गरेका छन् । साथै गाउँ, टोल तथा बस्तीमा वर्षाका कारण भएको क्षतिको विवरण यथाशीघ्र वडा कार्यालयमा जानकारी गराउन पनि उनले अनुरोध गरेका छन् । उनले जिल्ला विपद् व्यवस्थापन समिती र नगरपालिकाले त्यस क्षेत्रको जनजीवनको जोखिमलाइ मध्येनजर गरी सहयोग र राहत उपलब्ध गराउन अनुरोध गरेका छन् ।
फाेटाे फिचर :

