
- पूर्णपुष्टि सम्वाददाता
- असोज १९ । गाईघाट
त्रियुगा नगरपालिका १६ स्थित श्री माद्यामिक बिद्यालय भोर्लेको आयोजनामा ‘अब छोरीको पालो’ भन्ने मूल नाराका साथ वडा दसैँ तथा दीपावलीको अवसरमा आयोजित अन्तरविद्यालय यू–१६ छात्रा भलिबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।
असोज १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा त्रियुगा नमुना माध्यमिक विद्यालयले उपाधि जित्दै नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।
त्यस्तै माध्यमिक विद्यालय भोर्ले उपविजेता बन्दै नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा नमुना माध्यमिक विद्यालय भलायडाँडा तेस्रो स्थानमा रहँदै नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगिताको सर्वोउत्कृष्ट रुस्मा अछामी, सर्वोउत्कृष्ट सेटर ख््राष्टिना राई,सर्वोउत्कृष्ट सर्भर निशा श्रेष्ठ, सर्वोउत्कृष्ट लिब्रो मेलिसा राई,सर्वोउत्कृष्ट स्पाईकर प्रतिमा राना मगर र बेष्ट कोच गणेश मगर भए ।
प्रतियोगिताको समापन समारोह कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, वडाध्यक्षहरू मानबहादुर राई र नवीन राई, नगर खेलकुद विकास समितिका अध्यक्ष किरण कार्की तथा युवा विद्यार्थी नेता भुवन दाहाललगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताले विद्यालय तहमा छात्राहरूको खेल प्रतिभा पहिचान तथा विकाससँगै महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यमा योगदान पु¥याएको आयोजकले जनाएको छ ।
