Monday, October 5News That Matters

भारतीय सहयोगमा त्रियुगा–५ श्रीपुरमा ३ लाख लिटरको खानेपानी ट्यांकी उद्घाटन

  • बिरसबाबु शाही / पूर्णपुष्टि
  • १९ असोज २०८३ । उदयपुर

गाईघाट । त्रियुगा नगरपालिका–५ स्थित श्रीपुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता व्यवस्थापन समितिको नयाँ खानेपानी ट्यांकीको उद्घाटन गरिएको छ। ट्यांकीको उद्घाटन भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले भारतीय सहयोगमा सम्पन्न योजनाले नगरवासीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनले खानेपानीजस्तो आधारभूत आवश्यकतासँग जोडिएको परियोजनाले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरे।
नगरपालिकाका उपप्रमुख महेश्वरी राईले स्थानीय सरकार जनताप्रति अहोरात्र उत्तरदायी रहेको बताउँदै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्।
त्रियुगा–५ का वडाध्यक्ष उद्धव थापाले योजना सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पूर्वमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका पदाधिकारीप्रति धन्यवाद व्यक्त गरे।
करिब ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको परियोजनामा २० प्रतिशत लगानी त्रियुगा नगरपालिकाको र ८० प्रतिशत लगानी भारतीय पक्षको रहेको जनाइएको छ। परियोजनाअन्तर्गत थप गरिएको ३ लाख लिटर क्षमताको पानी ट्यांकीबाट ७ सय ७० घरधुरीमा २४सै घण्टा खानेपानी आपूर्ति हुने समितिका सचिव गौतम कुमार थापाले जानकारी दिए।
स्थानीय तह र भारतीय सहयोगमा निर्माण सम्पन्न भएको उक्त परियोजनाले श्रीपुर क्षेत्रका घरधुरीमा नियमित तथा सहज खानेपानी आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।