Tuesday, April 21News That Matters

अस्पतालले कोरोना संक्रमितलाई घर पठाएपछि

पूर्णपुष्टि, जेठ २७ गते । 

बैतडिका कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढीले निको नहुँदै घर पठाएपछि गाउँमा कोरोनाको त्रास छाएकोे छ । शिवनाथ गाउँपालिकाका४ जनालाइ कोरोना निको नहँदै घर पठाएको हो ।

शिगापा–१ का २० वर्षीय र २७ वर्षीय पुरुष र २ न. वडाका २० र २२ वर्षीय पुरुषलाई घर पठाएको हो । गत जेठ २३ गते अस्पतालले कोरोना निको नहुँदै घर पठाएका उनीहरु चारै जना २५ गतेमात्रै घर पुगेका हुन् ।

कैलालीको गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा गत जेठ १० गते कोरोना पुष्टि भएको थियो ।

अहिले संक्रमितलाई ७ दिनसम्म होम क्वरेन्टीनमा बस्न भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमितलाई निको नभई नै घर पठाउँदा स्थानीयमा त्रास छाएको जनाईएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुले कोरोनालाई जितेपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

कोरोनाको खासै लक्षण नदेखिएको र जटिल स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

सेती प्रादेशिक अस्पतालले जेठ २३ गते बैतडीका ४ सहित ६ जना कोरोना संक्रमितलाई  डिस्चार्ज गरेको थियो ।

बैतडीका ६ संक्रमितमध्ये १ जना यसअघि बुधवार कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन् भने १ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।