
पूर्णपुष्टि, असार २८
आजदेखि रसुवा भन्सार कार्यालयले सामग्रीको जाँचपास गर्ने भएको छ । व्यापारी तथा प्रतिनिधि नाका पुगेका र कामदारको समस्याको समाधान भएसँगै भन्सारले जाँचपास प्रक्रिया अघि बढाएको हो ।
हिजो गाडीको डिसइन्फेक्सन र प्याकिङ सूची बनाउने काम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । कोरोना भाइरसको त्रासका कारण करिब ५ महिना बन्द भएर सञ्चालनमा आएको रसुवागढी नाकाबाट गत सोमबारदेखि नियमित सामग्री आईरहेको छ ।
सोमबारदेखि चीनले सामग्री आयात गर्नका लागि मात्रै एकतर्फी नाका खोलेको थियो । त्यस दिनदेखि चिनियाँ गाडीले दैनिक चारवटा गाडीमा सामग्री ल्याइरहेका छन् । जुत्ता, चप्पल, लत्ताकपडा लगायतका सामग्री आयात भएको छ । चिनियाँ एउटा गाडीले ल्याएको सामग्री नेपाली २ वटा कन्टेनरमा राखिन्छ ।
कोरोना सङ्क्रमण फैलिन नदिन भन्दै गतको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । नेपालको तर्फबाट नाकामा अहिले १५ जना चालक र १६ जना कामदार राखिएको छ । दैनिक करिब ३ तीन करोड राजस्व संकलन हुने रसुवागढीमा कोरोना सङ्क्रमणको जोखिमपछि अहिलेसम्म करिब ५ अर्ब राजस्व घाटा भएको छ ।
आयात भएका सामग्री सहज ढुवानी गर्न स्याफ्रुबेंसी– टिमुरे खण्डको राजमार्ग सफा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
