Tuesday, June 9News That Matters

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप लगाउन सुरु

पूर्णपुष्टि,फागुन २

आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रनिनिधिलाई पनि सरकारले कोरोना खोप उपलब्ध गराएको छ । फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  खोप दिन लागेको हो ।

मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।

सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा खोप उपलब्ध गराएको थियो ।

स्वास्थ्य मन्त्रालयले तोकेको खोप केन्द्र गएर खोप पर्ने छ । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याइएको छ ।

कोभिशिल्ड खोप भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको हो । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाउन सरकारले सबैमा आग्रह गरेको छ ।