
पूर्णपुष्टि, साउन २७ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज सबै प्रदेशमा वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही अन्य भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै विभागले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन समेत विभागले सुझाव दिएको छ।
