
पूर्णपुष्टि,वैशाख २१ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । नृसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
हाम्रा धार्मिक ग्रन्थलाई साक्षी राख्दा भगवान बिष्णुले चौबिस अवतार लिनुभएको छ । जसमध्ये नृसिंह अवतार पनि एक हो । नृसिंह अवतार लिएर भगवान पृथ्वीमा अवतरित हुँदा बैशाख शुक्ल पक्षको चतुर्दशी तिथि रहेको थियो । कश्यप ऋषि र दितिका छोरा हिरण्याक्ष र हिरण्यकशिपु हुन् । हिरण्याक्षको वध वराह भगवानले जलबाट यस धराधामलाई उद्दार गर्ने क्रममा गर्नुभएको थियो । त्यसैको प्रतिशोध लिनलाई हिरण्यकशिपुले ठुलो तप गरि ब्राह्माजीसँग अमरत्वतुल्य वर पाएको थियो ।
शक्ति पाएपछि उसले आफ्नो लक्ष्य प्राप्तिमा लाग्यो । सोहि अनुरुप कार्य गर्दै थियो । जसमा उसको छोरा भक्त प्रह्लाद कडा बनेर आइदिए । आफ्नो बाटोमा हिँडाउन साम, दाम, दण्ड प्रयोग गर्दा नसके पछि अब भेदन गर्नुपर्छ भनेर निश्चय गरेर रिसले सोध्दछ, के यो खम्बामा पनि तेरो ईश्वर छ भनी सोध्छ र छ भन्ने उत्तर आएपछि उसले खम्बामा हिर्काउँछ। त्यसपछि भक्तको रक्षा गर्न प्रचण्ड बेगसाथ भगवान नृसिंह अवतार उत्पन्न हुनुभयो । भगवानको शरीर मनुष्यको जस्तो र शिर सिंहको जस्तो थियो । त्यसैले उक्त अवतारलाइ नृसिंह भनियो ।
भगवानलाई देखेर हिरण्यकशिपु उहाँप्रति जाइलाग्यो । उहाँले विरालोले मुसो समाते जस्तै समात्नुभयो र ढोकामा बस्नुभयो। काखमा सुताएर आफ्ना नङले उसको शरीरलाई चिराचिरा पार्नुभयो । त्यसलाई मारेपछि उसको पक्षका अरुलाई पनि मार्नुभयो । नरसिंह अवतार भौतिकवादको पराकाष्ठा माथि आध्यात्मिकवादको विजय हो । बेमौसमी विरुवा राम्रो हुँदैन भन्ने हो। राक्षस प्रवृति भएको मानिसको लागि कोहि आफ्नो हुँदैन भन्ने पनि हो ।
साथै हिरण्यकशिपुलाई भगवानले मार्नुभएको होइन तार्नु भएको हो । किनभने उ त साक्षात भगवानको ढोके थियो । जो पाप पखाल्नको लागि यो जन्मन आएको थियोे ।
मानव मात्रको शिक्षाको लागि आएको थियो । यो लिला सुन्नु मात्रले पनि यो जीवन पवित्र हुन्छ । आजको दिनमा लक्ष्मी सहित नरसिंह भगवानको जसले पूजा गर्दछ उसले जीवनमा सत्मार्ग र सदाचारबाट नै यो जीवन र जगत उज्ज्वलित बनाउँछ।
यस्तो मौका सदै आउँदैन, त्यसैले आजबाट नै जीवनलाई आध्यातमिक मार्गको सुनौलो बिहानीतर्फ हाम्रो जीवनको कोल्टे फेराउँ ।
