Tuesday, June 9News That Matters

आज विश्व गैरसरकारी संस्था दिवस

पूर्णपुष्टि,फागुन १५ । सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक गैरसरकारी संगठन शब्दले एउटा औपचारिक स्थान पायो । त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफा मुलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउछ भनेर उल्लेख गरियो । त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक शहर वा जिल्लामा हुने स्थानीय समस्याहरुको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मन्चमा गराउने गर्दछन ।

थुप्रै यस्ता गैरसरकारी संस्थाहरुले समाज उत्थानको लागि दिएका योगदानहरुलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रअरीको दिन संयुक्त राष्ट्र संघले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ। आजको दिनको मुलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर सरकारी संस्थाले समाजमा पुर्याएको योगदान र अन्य गतिविधिहरुको महत्वलाई विश्वसामु प्रष्ट पार्ने प्रयास गर्दछ।

त्यसबाहेक आजको दिन ति सबै स्वयंसेवक, सदस्य र समर्थकहरुलाई उनीहरुले समाजमा पुर्याएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो। यस्ता थुप्रै व्यक्तिहरु छन् जसले कुनै न कुनै रुपमा यस्ता गैर सरकारी संस्थाहरूका कार्य र परियोजनाहरुलाई सफल पार्न आफुलाई समर्पित गरेका छन्। आजको दिन हामि सबैले एकपटक ति निस्वार्थी सहयोगीहरुलाई सम्झना गर्दै सम्मान दिन पर्छ। ति व्यक्तिहरूलाई हामीले दिने सम्मानले नै अन्य मानिसहरुलाई यस्ता गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्न हौसला प्रदान गर्नेछ।