Tuesday, April 21News That Matters

आत्महत्या गर्नेको संख्यामा वृद्धि, रोक्थामका लागि २४ घण्टै निगरानी

पूर्णपुष्टि, असोज २८ गते ।
प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ को सप्तरी जोड्ने पुलबाट हामफालेर आत्महत्या गर्ने तथा गर्न खोज्नेको संख्यामा वृद्धि भएको छ । उक्त घटना रोकथामका लागि कोसी ब्यारेजलाई २४ घण्टै निगरानीमा राख्न थालिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१ की २७ वर्षीया महिलालाई प्रहरीले बुधबार दिउँसो कोसी ब्यारेजबाट उद्धार ग¥यो ।
शंकास्पद गतिविधि गरिरहेको सूचना पाएर तत्काल पुगेको प्रहरीले सप्तकोसी नदीमा हामफाल्न खोजेकी महिलालाई कोसी गाउँपालिका–८ बाट उद्धार गरेको हो । स्थानीयले खबर गरेपछि प्रहरीले महिलालाई सकुशल उद्धार गर्न भ्यायो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार सप्तकोसीमा हामफाल्नबाट रोकेर उद्धार गरिएकी महिलाले घरयासी समस्याका कारण तनाव भएकाले सहन नसकेर आत्महत्या गर्न खोजेको बताएकी छिन् ।
उद्धारपछि आवश्यक ’काउन्सिलिङ’ गरेर महिलालाई परिवारका सदस्यको जिम्मा लगाइएको राईले बताए । त्यस्तै गत भदौ १७ गते साँझ इटहरी उपमहानगरपालिका–२ की ३४ वर्षीया महिला १२ र ९ वर्षका छोरी तथा ७ वर्षका छोरा लिएर कोसी ब्यारेज पुगिन् ।
तीन सन्तानसहित सप्तकोसीमा हामफालेर सामूहिक आत्महत्या गर्ने योजना बनाई ती महिला त्यहाँ पुगेको जानकारी स्थानीयले प्रहरीलाई गराए । प्रहरीले महिला र उनका ३ सन्तानलाई उद्धार गर्दै कोसीमा हामफाल्नबाट जोगायो ।
वैदेशिक रोजगारीबाट ५ वर्षपछि फर्किएका पतिले दिएको तनाव सहन नसकेर सन्तानसहित महिलाले आत्महत्या गर्न खोजेको पाइएको डीएसपी राईको भनाइ छ । उद्धारपछि आवश्यक ’काउन्सिलिङ’ गरेर परिवारलाई जिम्मा लगाइएको उनले बताए ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कोसी ब्यारेजको निगरानीका लागि असइ (सहायक निरीक्षक) को नेतृत्वमा विशेष टोली परिचालन गरेका छन् ।
टोलीले पुलमा पैदल आवतजावत गर्नेहरूसँग सोधपुछ गर्दै उनीहरूको गतिविधि तथा व्यवहारमाथि निगरानी गर्ने छ । पैदल हिँडेर पुल वारपार गर्न खोजेजस्तो गर्ने र त्यहीँबाट नदीमा हामफाल्ने गरेको पाइएपछि प्रहरीले आत्महत्या रोक्न विशेष सतर्कता अपनाउँदै प्रहरीले कोसी ब्यारेजमा निगरानी बढाएको हो ।
उनका अनुसार आत्महत्या गर्न खोज्नेलाई विशेष हिसाबको ’काउन्सिलिङ’ गरेर परिवार एवं आफन्तको जिम्मा लगाउने गरिएको छ । पछिल्लो डेढ वर्षको अवधिमा पुलबाट सप्तकोसीमा हामफालेर आत्महत्या गर्न खोज्ने २८ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकामध्ये १६ जना महिला र १२ जना पुरुष छन् । उक्त अवधिमा कोसी ब्यारेजबाट हामफालेका १ महिला र २ जना पुरुषको मृत्यु भएको छ । सप्तकोसीमा हामफालेका २ जना पुरुष बेपत्ता भएका छन् ।
आत्महत्या रोकथाम एवं नियन्त्रणका लागि प्रदेश १ मा गत असोज २ गतेदेखि प्रहरीले विशेष अभियान संचालन गरेको छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले विकराल रूप लिएको आत्महत्या रोकेर मानिसको जीवन बचाउने उदेश्य अभियानको रहेको बताए ।
उनका अनुसार असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागूऔषधको दुर्व्यसन, मदिरा सेवन लगायतले आत्महत्याको दर बढाएको छ। महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरूपयोग, छुवाछूत एवं अपहेलना, तनावपूर्ण घटना, कमजोर जीवन शैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भधारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमी लगायतका कारणले आत्महत्या गर्ने क्रम बढेको गिरी बताउँछन् ।
प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा १ हजार ४ सय ८९ जनाले आत्महत्या गरेका छन् ।