Thursday, June 11News That Matters

आफ्नै छोरी बलात्कारको आरोपमा १ पक्राउ

पूर्णपुष्टि, पुष २०

विराटनगरमा आफ्नै छोरी बलात्कारको आरोपमा एक जना पक्राउ परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ५० वर्षका पुरुषले बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला प्रहरीले पक्राउ परेको हो । उक्त पुरुषमाथि आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोप रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीकी बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ ।

अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरेको थियो । सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेको थियो, तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज ल्याएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करिब चार–पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो । प्रहरीका अनुसार अस्पतालमा सोधिखोजी गर्दा बुबाले जबरजस्तीकरणी गर्दा गर्भ रहेको खुलेको छ । उक्त पुरुषलाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । थप प्रमाण संकलनका लागि गर्भपन गरिएको बच्चाको डीएनए जाँचका लागि पठाएको प्रहरीले जनाएको छ ।