
पूर्णपुष्टि, जेष्ठ ३१ । आफ्नो नामको लोक सेवा परीक्षा दिन लगाउने र दिने दुबै जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव र राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापालमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा सुतियारको नाममा यादवले परीक्षा दिएका थिए । सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले बताए । पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
