Thursday, June 25News That Matters

आभाशा राष्ट्रिय अभियानको समीक्षात्मक गोष्ठी सम्पन्न, महिला सशक्तीकरणमा जोड

उदयपुर, असार ११

आभाशा राष्ट्रिय अभियान नेपाल र मदिना मञ्जरी (नजबुल) फाउन्डेसन नेपालको आयोजनामा तथा त्रियुगा नगरपालिकाको सहयोगमा महिला सशक्तीकरण तथा लैंगिक समानतासम्बन्धी समीक्षात्मक गोष्ठी मंगलवार सम्पन्न भएको छ।
मदिना मञ्जरी (नजबुल) फाउन्डेसन नेपालकी अध्यक्ष नजबुल खान (निलम)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपालिकाको न्यायिक समिति सदस्य मिरा विक प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा आभाशा राष्ट्रिय अभियान नेपालका महासचिव ललित साहले अभियानका हालसम्मका उपलब्धि र चुनौतीबारे प्रस्तुति राख्नुभएको थियो भने भिमा कुमारी राईले समानता र समावेशिताका विषयमा धारणा व्यक्त गर्नुभएको थियो।
गोष्ठीमा त्रियुगा नगरपालिकाको सामाजिक शाखाकी निरु कार्की, अम्बिका चौधरी, जिल्ला अस्पतालकी डा. निर्मला चौधरी, जिल्ला प्रहरी कार्यालयकी शर्मिला माझी, चेलीबेटी समाज विकासकी अध्यक्ष तारा राई, डिफानका उत्सव पोखरेल, डब्लुएचआरडीकी कल्पना मोतेलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले अभियानको प्रशंसा गर्दै महिला अधिकार सुनिश्चित गर्न यस्ता अभियान प्रभावकारी भएको बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नजबुल खान (निलम)ले अभियानमा ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गर्दै महिलाको आफ्नै नाम, पहिचान र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताउनुभयो। उहाँले आभाशा राष्ट्रिय अभियान सातै प्रदेशसम्म विस्तार भइसकेको जानकारी दिँदै अब जिल्ला तहसम्म अभियानलाई सशक्त रूपमा लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले अभियानको मूल मन्त्र “समानताका लागि हुनैपर्छ—आसनमा महिला, भाषणमा महिला, शासनमा महिला” रहेको उल्लेख गर्दै कुनै पनि सार्वजनिक कार्यक्रम वा निर्णय प्रक्रियामा महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो। महिला अधिकारको सवाल उठान हुन थालेको र विभिन्न क्षेत्रमा महिलाको सहभागिता तथा प्रतिनिधित्व बढ्दै गएको अभियानको महत्वपूर्ण उपलब्धि रहेको उहाँको भनाइ थियो।
आगामी निर्वाचनमा प्रमुख पदहरूमा कम्तीमा ५० प्रतिशत महिला नेतृत्व सुनिश्चित गर्नुपर्ने मागसमेत अभियानले अघि सारेको छ।
<span;>कार्यक्रमको सञ्चालन आभाशा राष्ट्रिय अभियानकी सदस्य रजिया सुल्तानले गर्नुभएको थियो।