Wednesday, June 24News That Matters

सडक सुरक्षा व्यवस्थापन र कसमस सिमेन्टको ढुवानी आत‌क नियन्त्रण पहलको माग गर्दै सिडियोलाई ज्ञापनपत्र https://purnapusti.com/सडक-सुरक्षा-व्यवस्थापन-र/

पूर्णपुष्टि/उदयपुर, असार १० ।

मदन भण्डारी लोकमार्गमा बढ्दो सडक दुर्घटना तथा कसमस सिमेन्ट उद्योगको चुनढुंगा उत्खनन र ढुवानीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याको समाधानको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले बुधबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयवासीको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्रमार्फत मदन भण्डारी लोकमार्गअन्तर्गत अँधेरी–जोगिटोल सडकखण्डमा निरन्तर भइरहेका दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा अँधेरी झरनादेखि जोगिटोलसम्म करिब तीन किलोमिटर लामो ओरालो, घुमाउरो र जोखिमयुक्त सडकका कारण सवारीसाधनको ब्रेक फेल भई बारम्बार दुर्घटना हुने गरेको उल्लेख गरिएको छ । यसले जोगिटोल बस्तीसमेत जोखिममा परेकाले सडकको मोड तथा संरचनागत सुधार तत्काल गर्न माग गरिएको छ ।

त्यसैगरी उदयपुरगढी गाउँपालिका–८ स्थित खानी क्षेत्रबाट कसमस सिमेन्ट उद्योगका लागि ढुंगा ढुवानी गर्ने क्रममा टिपरमा तोकिएको क्षमताभन्दा बढी लोड गरी सञ्चालन गरिने गरेको स्थानीयको आरोप छ । ओभरलोड टिपरका कारण सडक जीर्ण बन्दै गएको, धुलो, हिलो, ध्वनि तथा वायु प्रदूषण बढेको र स्थानीयको दैनिकी कष्टकर बनेको ज्ञापनपत्रमा उल्लेख छ ।

स्थानीयका अनुसार रातदिन अनियन्त्रित रूपमा सञ्चालन हुने टिपरका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न तथा सर्वसाधारणलाई आवतजावत गर्न समेत समस्या भइरहेको छ । साथै ओभरलोड सवारीका कारण मदन भण्डारी लोकमार्गमा दुर्घटनाको जोखिम थप बढेको भन्दै अनुगमन कडा पार्न र मापदण्डअनुसार मात्र ढुवानी गर्न प्रशासनसँग माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मगरले स्थानीयका जायज मागबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन् । स्थानीयवासीले समस्या समाधानका लागि शीघ्र कदम चाल्न प्रशासनलाई आग्रह गरेका छन् ।