
पूर्णपुष्टि, माघ १६
मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परका दुबै शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको शव फेला परेको हो । उनीहरु दुबै जना साथी रहेको प्रहरीले जनाएको छ ।
बिहीवार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।

तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको शव उनका आफन्तले सनाखत गरेको जानकारी दिए । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।
गत बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको थियो ।
प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको प्रहरी स्रोतको भनाई छ ।

