
पूर्णपुष्टी/उदयपुर, माघ ५ गते ।
नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा रहेको भएपनि राज्यले सो अनुसारको मुल्याङ्कन र सहयोग नगरेको प्राध्यपक डाक्टर युवराज संग्रौलाले बताएका छन् ।
उदयपुरको नारदआदर्श क्याम्पस, बसाहामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. संग्रौलाले गाउँगाउँमा शिक्षाको ज्योती छरेर सामुदायिक क्याम्पसले उच्च शिक्षामा उच्चस्थानको भुमिका गरेको बताए । “हुनेखानेहरु शहर गएर उच्च शिक्षा हाँसिल गर्छन्, शहर जान नसक्नेहरुलाई सामुदायिक क्याम्पसले गाउँमै उच्च शिक्षा दिइरहेको छ ।” उनले भने । त्यसमा पनि छोरी बुहारीहरुलाई विशेष अवसर दिइरहेको उनले बताए । 

उनले सरकारले शिक्षामा लगानीको नाममा हुनेखाने, धनी सम्पन्नलाई नै पोसिरहेको आरोप उनको छ । अव त्यस्ता कुरा सहेर बस्न नहुने प्रतिवाद र विरोध गरेर अहिलेको ब्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।
शिक्षाको नाममा बेरोजगार बढाउने मात्र काम भइरहेको अब शिक्षा ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । त्यतिमात्र नभई क्याम्पसहरुले सभ्याता, संस्कार, संस्कृती, असल जीवनशैली, उत्पादनलाई पनि विद्यार्थीसंग जोड्नु पर्ने धारणा राखे ।
झापा क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार उठ्न लागेका प्रा.डा. संग्रौलाले शिक्षा क्षेत्रको तमाम विकृती र समस्या हलको लागि सदनमा लड्न चुनावमा उत्रेको जनाए ।
क्याम्पसको संयोजन तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा स्थानीय बौद्धिक ब्यक्तित्व, नागरिक समाज, समाजसेवी, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थीहरुको बीचमा महत्वपूर्ण कार्यक्रम भएको क्याम्पस प्रमुख राजकुमार राईले बताए ।
