
पूर्णपुष्टि, असोज ५ गते ।
उदयपुरको तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा परेका छन् । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको हो ।
तोकिएको समय सीमाभित्र निर्वाचनको खर्च नबुझाउने ६ जना निर्वाचित प्रमुख र उपप्रमुखसहित ८ सय ५९ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
आयोगले कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, उपमेयर गिता खड्का, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष पुष्पकुमार राई, ताप्लि गाउँपालिकाका अध्यक्ष ढुंगराज बिक र उपाध्यक्ष धनमाया मगरसहितका जनप्रतिनिधि र उम्मेदवारलाई कानुनी व्यवस्था अनुसार जरिवाना तोकेको हो ।
आयोगले निर्वाचनसम्बन्धी कानून र आचारसंहिता बमोजिम खर्च विवरण नबुझाउने कटारीका प्रमुख र उप्रमुखलाई ४ लाख ५० हजारको दरले र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजारसम्मको जरिवाना गरेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए ।
जिल्ला निर्वाचन अधिकारी कोईरालाका अनुसार उम्मेद्वार भएर खर्च नबुझाउने विजयी र पराजित ८ सय ५९ जनालाई १ लाख ५० हजार देखि ४ लाख ५० हजार सम्म जरिवाना गरेको छ ।
‘निर्वाचित भएर पनि आयोगमा खर्च विवरण नबुझाउने विजयी उम्मेद्वारहरुले ६ महिना जरिवाना रकम आयोगमा नबुझाए विजयी भएको पद नै रिक्त हुने कानुनमा व्यवस्था छ ।’ खर्च विवरण नबुझाउने उम्मेद्वारको कानुनमा भएको व्यवस्था बारे कोईरालाले भने, ‘ निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ३ बमोजिम गरेको हो ।’
आयोगले निर्वाचनमा उम्मेद्वार भएर खर्च विवरण नबुझाएका पराजित उम्मेद्वारहरुले ६ महिनासम्ममा पनि जरिवाना रकम नबुझाएमा ६ वर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
