
पूर्णपुष्टि,चैत ९ । उदयपुरकी एक महिला दुई सन्तान सहित ८ दिनबाट बेपत्ता भएकी छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ धप्पर घर भएकी ३४ वर्षीया हिराकुमारी सार्की घरपरिवारका कुनै पनि सदस्यलाई जानकारी नगराईकन ८ दिनबाट बेपत्ता भएको परिवारले जनाएको छ ।
१३ वर्षीया छविमाया सार्की र ९ वर्षका राजन सार्की पनि आमासँगै सम्पर्कबिहीन भएको जेठाजु आले मगरातीले जानकारी दिए । सम्भाबित सबै ठाउँमा खोजतलास गरिसकेको र हालसम्म कहि पत्ता लाग्न नसकेको उनले बताए । हिराकुमारीका दाजु अम्मरबहादुर सार्कीले दुई सन्तानसहित चैत १ गते घरबाट निस्कीएपछि सम्पर्क बिहिन भएको बताएका छन् । उनले भने सबै सम्भाबित ठाउँ, आफन्त, नलनाता सबैठाउँ खोजिसकेको र अब प्रहरी र मिडियाको भरमा छौं ।
हिराकुमारीले प्रयोग गर्दै आएको मोवाईल अघिल्लो दिनसम्म लागेको उनको परिवारले जनाएको छ । सम्पर्कमा आएको बेला जेठा छोरासँग कुरा गर्दा आफू पोखरामा रहेको बताएका थिए । त्यसलगतै सम्भाबित ठाउँमा खोज्न हिराकुमारीका श्रीमान सम्भु सार्की पुग्दा त्यहाँ पनि फेला नपरेको परिवारले जनाएको छ । अन्तिम चोटी सम्पर्कमा आउँदा पोखरा बताएकी उनको अहिले मोवाईल अफ छ । साना बच्चाहरुसँगै हराएकी हिराकुमारीको खोजतलास गर्न परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएका छन् ।
