
पूर्णपुष्टि, जेठ २२ । उदयपुरको कटारी नगरपालिकामा वन्यजन्तुको चोरी सिकारी बढ्दै गएको छ । कटारीको दक्षिणी भेगमा रहेको वडा नं १, २, ३, ५ र ६ को सामुदायिक वन र सरकारी वन रहेको चुरे भेगमा चोरी सिकारी बढेको हो ।
वन क्षेत्रमा दैनिक सिकारीहरुले निलगाई , बँदेल , मृग , मयुर , कालिज , धनेस जस्ता वन्यजन्तु र पंक्षीहरु सिकार गर्ने गरेको स्थानियहरु बताउँछन् । कटारी नगरपालिका–३ का स्थानिय डबबहादुर परियारका अनुसार वीसनाल जति भरुवा वन्दुक लिएर वनमा सिकारीहरु आउने गरेका छन् । पानी पर्न थालेपछी जन्तुहरुको पाईला हेरेर सिकार गर्न सजिलो हुने भएकोले अहिले वन भरी सिकारीहरु रहेको परियारले बताए । चुरे बनमा डढेलो लगाउने पनि सिकारीहरु नै रहेको उनले बताए । सिकार खेल्न सजिलो भएको कारण सिकारीले आगो लगाउने गरेको उनको भनाई छ ।
सिकारीहरु भरुवा बन्दुक लिएर सामुदायिक वन रहेको गाउँ नजिकसम्म सिकार खेल्न आउने गरेकोले घर छेउमा आउने वँदेल, दुम्सी, खरायो, मृग,निल गाई मासि सकेको कटारी–३ च्याँगाका लवकुश माझीले बताएका छन् । सिकार खेल्नलाई नगरपालिका भित्र र बाहिरबाट समेत सिकारीहरु आउने गरेको स्थानियहरु बताउँछन् । नगरपालिकाको चुरे वन भित्र रहेको वडा १ १ को खसिबास, एक्लेसल्ला र सिरहा जिल्लाको गोलबजार नगरपालिका अन्र्तगतको चुरे किनारका वस्तीहरुबाट सिकारीहरु आउने गरेको स्थानियको भनाई छ ।
डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले वनमा चोरी सिकारी वढ्ने मौसम रहेकाले दैनिक वनगस्ति खटाएको जानकारी दिए । ‘दैनिक गस्ति खटाएका छौं , प्रहरीहरुसँग पनि समन्वय गरीरहेका छौं , अनुमति विनाका भरुवा वन्दुक नियन्त्रणमा लिन र बुझाउन अनुरोध गर्ने तयारीमा छौं ’ अधिकृत साहले भने, ‘वन्यजन्तु अनुसार सिकारीहरुलाई फरक फरक सजायको व्यवस्था गरिएको छ ।
वन्यजन्तु र पंक्षीको सिकारीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धि कार्वाही हुने पनि अधिकृत साहले बताए । साहका अनुसार यस क्षेत्रमा संरक्षित पंक्षीमा ठुला धनेस , हात्तीहरु आउने गर्छन । वनमा धनेस, सुगाहरु रुखहरु मासिनु , सिकारी वढ्नु , डढेलो लाग्नुका कारण डेढ दशक अघिसम्म यस क्षेत्रमा प्रशस्त पाईने कर्रा, कागभेला जातको पाल्ने र वोल्ने प्रजातिको सुगा समेत अहिले नभेटिने स्थानियहरुले बताएका छन् ।
