Sunday, April 19News That Matters

उदयपुरको दुई स्थान मतगणनाका लागि चयन

२१ फागुन, २०८२ । उदयपुर
उदयपुरमा मतगणनाका लागि दुई स्थान चयन गरिएको छ । उदयपुरको क्षेत्र नं. १ को मतगणनाका लागि त्रियुगा नगरपालिका ११ गाईघाट स्थित त्रियुगा माध्यामिक विद्यालयमा चयन गरिएको छ भने उदयपुर–२ को मतगणनाका लागि कटारी नगरपालिकाको कटारी नगरपालिका–४ स्थित उदयश्री बहुमुखी क्याम्पस चयन गरिएको मुख्य निर्वाचन अधिकृत मुकेशकुमार उपाध्ययले बताए । मतगणना तोकिएको ठाउँमा मतकेन्द्रहरुबाट हाल मतपेटिका संकलन गरी धमाधम भण्डारण भईरहेको जनाइएको छ ।
त्रिमावि गाईघाटमा त्रियुगा, चौदण्डी र बेलका नगरपालिका गरी तीन स्थानीय तहको ५२ मतदान स्थानका १६० मतकेन्द्रमा खसेको मत संकलन गरी गणना हुनेछ । उदयश्री क्याम्पसमा एक कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली चार गाउँपालिका गरी पाँच स्थानीयतहको ५१ मतदान स्थानका ११५ मतदान केन्द्रमा खसेको मत संकलन गरी गणना हुनेछ ।
मुख्य निर्वाचन अधिकृत उपाध्ययका अनुसार साँझ ५ः०० बजे मतदान सकिने वित्तिकैदेखि ती दुई मतदान केन्द्रहरुमा सम्बन्धीत क्षेत्रका मतपेटिकाहरु संकलन हुनेछन् । मतगणनाको तयारी आजै गरिसकिएको जनाइएको छ ।
मतगणना संकलनदेखि मतपेटिकाको सुरक्षा, भण्डारण जस्ता कुराहरुको ब्यवस्था मिलाइएको जनाइएको छ ।
मतपेटिका संकलन सकिएपछि सर्बदलिय, सर्बपक्षीय बैंठक बसी गणना थालनी गरिने भएको छ ।
उदयपुर–१ मा कुल मत १ लाख ४२ हजार ८०४ मध्ये ८० हजार ५९ मत खसेको छ भने उदयपुर–२ मा कुल मत ९६ हजार १३१ मध्ये ४४ हजार ६३४ मत खसेको छ ।