
पूर्णपुष्टि, फागुन २४ । उदयपुरको क्षेत्र नं. १ र क्षेत्र नं. २ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित हासिल गरेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ बाट पारशमणी गेलाल र क्षेत्र नं. २ बाट सुर्यबहादुर तामाङ विजयी भएका हुन् ।
आईतबार विहान घोषित मत परिणाम अनुसार गेलालले ३० हजार ५ सय ९ मतका साथ प्रतिस्पर्धीभन्दा १८ हजार ९ सय ८४ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतद्धन्दी श्रम सँस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६ सय ९६ मत पाए । यो क्षेत्रमा ७९ हजार ९ सय ५६ मत खसेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरी १० हजार २१ मतका साथ तेस्रो भए भने नेपाली कांग्रेसका बिदुर बस्नेतको ९ हजार ६ सय ७५ र नेकपा (एमाले) का दुर्गाकुमार थापा ९ हजार २ सय ६ मतका साथ चौथो र पाँचौ स्थानमा खुम्चिए ।
त्यस्तै क्षेत्र नं. २ मा रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८ सय २ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाए ।
नेपाली काँग्रेसका रामकुमार राईले ७ हजार २ सय १० तथा नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५ हजार १ सय ९७ मत पाए । श्रम सँस्कृति पार्टीका बलराज राईले ४ हजार १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
