Friday, May 1News That Matters

उदयपुरको पुष्पाञ्जली विद्यालयमा अध्ययन ठप्प, प्रिन्सिपल र फाउण्डर बेपत्ता

पूर्णपुष्टि, साउन २० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित पुष्पाञ्जली शिशु वाटिका विद्यालयका प्रिन्सिपल र फाउण्डर बेपत्ता भएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ।

विद्यालयका प्रिन्सिपल कर्ण कटेल गत साउन ११ गतेदेखि र फाउण्डर नै केही दिनदेखि सम्पर्कविहीन रहेका छन्। प्रिन्सिपल गत बिहीबार (साउन १० गते) विद्यालय आएको तर त्यसपछि बिना जानकारी अनुपस्थित रहेको शिक्षकहरूले जानकारी दिएका छन्। उनीसँग सम्पर्क गर्दा केटी हेर्न भिनाजु गोकुल वि.क. सँग काठमाण्डौँ गएको बताएको शिक्षकहरूले जनाएका छन्।

सोमबार साउन १४ गते विद्यालयमा आएर केहि दिनभित्र विद्यार्थीहरूलाई अन्यत्र स्कुलमा सार्ने वा विद्यालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने भनिए पनि त्याे गरिएकाे छैन । विद्यालयको वार्डेन मनोज बस्नेत पनि विद्यालय आउने भनेर आएका छैनन्, बेपत्ता छन् । यस्तो अवस्थामा विद्यालयमा पठनपाठन प्रभावित भएको छ । अभिभावकहरूले बालबालिकाहरू स्कुलमा पढाइ नभएर लुडो खेलेर घर फर्किने गरेको गुनासो गरेका छन्। एक अभिभावकका अनुसार आफ्नो छोराले स्कुलमा पढाइ नै नहुने भन्दै स्कुल जान मान्दैन ।

यस घटनाले विद्यार्थीहरूको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ। वडा अध्यक्ष सुमन्त कोइरालाले विद्यालय सञ्चालकलाई विद्यालयको गतिविधिको विवरण मागेको र त्यसपछि आवश्यक कदम चालिने बताएका छन्। अभिभावक र शिक्षकहरूले विद्यालय व्यवस्थापनको यस्तो गैरजिम्मेवार व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् र चाँडो समाधान खोज्न माग गरेका छन्।