Monday, April 20News That Matters

उदयपुरको भुट्टारमा क्याम्पस सञ्चालनको तयारी

पूर्णपुष्टि,फागुन ८ । जिल्लाको रौतामाई गाउँपालिका–२ भुट्टारमा क्याम्पस सञ्चालन गरिने भएको छ । रसुवा माध्यमिक बिद्यालयको ९० औँ स्थापना दिवस (हिरक महोत्सव)को अवसरमा स्नातक तह अध्यापन गर्ने क्याम्पस सञ्चालनको प्रस्ताव अघि सारिएको हो ।

अधिकांस क्याम्पसहरु सहरबजार केन्द्रित रहेकाले विकट पहाडी क्षेत्रका बालबालिकालाई लक्षित गरी क्याम्पसको प्रस्ताव गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र साहीले बताए ।

जिल्लामा सञ्चालित ८ वटा क्याम्पस सबै सुगम ठाउँमा रहेकाले पहाडी क्षेत्रका बालबालिका गाउँकै ढिडोँ र पिठो खाएर उच्चशिक्षा हासिल गरुन भन्ने उदेश्यले क्याम्पस सञ्चालनको तयारी गरिएको बिद्यालयका पुर्वअध्यक्ष खविन्द्र रास्कोटीले बताए । उनले भने, ‘रौतामाई गाउँपालिकामा यसअघि नै सञ्चालन रहेको क्याम्पस नगर क्षेत्रसँग जोडिएको वडाको सुगम क्षेत्रमा छ, जुन पालिकाकै अन्य वडाका बालबालिकालाई पायक पर्दैन, त्यसैले पालिकाको केन्द्रमा क्याम्पस खोल्ने योजना बनाएका हौ । बिद्यालयका पुर्वअध्यक्ष झनकबहादुर साहीले रौतामाई मात्र नभएर छिमेकी लिम्चुङ्गबुङ्ग र ताप्लि गाउँपालिकाका बालबालिकालाईसमेत पायक पर्ने गरी क्याम्पस सञ्चालनको प्रस्ताव गरिएको बताए ।

हिरक महोत्सवको उद्घाटन गर्दै उदयपुर क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्य अम्वरबहादुर रायमाझीले क्याम्पस सञ्चालन गर्दा समाजमा बिक्न सक्ने सर्टिफिकेटका बिद्यार्थी उत्पादन गर्न सुझाब दिए । उनले भने, ‘प्रतिसपर्धाको जमाना छ, त्यसैले सर्टिफिकेट मात्र नभई, उत्पादन र रोजगारीसँग जोडिने खालका बिषयबस्तु अध्यापन गराउन सक्नु पर्दछ । उनले भने, ‘जीवन उपयोगी र व्यवसायिक शिक्षा आजको आवश्यकता भएकाले नयाँ किसिमका जुन वाहिरी जिल्लाबाटसमेत अध्ययनका लागि आउन सक्नेखालका बिषयको खोजी गर्न सक्नु पर्दछ । सांसद रायमाझीले भुट्टारमा क्याम्पस सञ्चालन गर्न सके गाउँघरमै बसेर अध्ययन गर्न चाहने छोरी, वुहारी र अन्यलाई सहज हुने बताए । उनले भने, ‘अध्ययन गर्ने चाहना छ तर आर्थिक अवश्था कमजोर भई सहरबजार जान नसक्नेका लागि गाउँघरमा सञ्चालन हुने क्याम्पसले टेवा पुग्न सक्छ ।

कार्यक्रममा बिद्यालय सञ्चालमा योगदान पुर्याएका संस्थापक सदस्य, पुर्वप्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । १९८९ सरकारी स्वीकृत भएर प्रारम्भिक भाषा पाठाशालाकोरुपमा स्थापना भएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन गराईन्छ । बिद्यालयका प्रधानाध्यापक राजकुमार कार्कीले भौगोलिक विकटता, आर्थिक अवश्था र भनेजस्तो सेवा प्रवाह गर्न नसक्दा बिद्यालय टिकाउन मुस्किल परेका बताए । ४ सय २५ जना बिद्यार्थी रहेको उक्त बिद्यालयमा नजिकमा धेरै बिद्यालय रहेकाले क्याम्पस सञ्चालनमा खासै असहज नहुने बताए ।

कार्यक्रममा पुर्वसांसद बिष्णुबहादुर राउत, गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर, निवर्तमान अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष भुपिन्द्र थापा, निवर्तमान उपाध्यक्ष कुमारी ज्युठकुरी, नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणि राउत, जिल्ला उपसचिब भरतबहादुर थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भरत खड्का, बिद्यालयका पुर्वअध्यक्ष खविन्द्र रास्कोटी, नेकपा एमालेका जिल्ला सदस्य हेम खड्का, एमालेका गाउँपालिका कमिटी अध्यक्ष केशव राई लगायतले बोलेका थिए ।

जिल्लाका ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ स्थानीय तह रहेको उदयपुरमा त्रियुगा, चौदण्डिगढी र कटारी नगरपालिकामा २-२ वटा क्याम्पस छन । त्यसैगरी बेलका र रौतामाई गाउँपालिकामा एक क्याम्पस गरी ८ वटा क्याम्पस सञ्चालमा रहेका छन् ।