
पूर्णपुष्टि, साउन २४
उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट भ्याट बिल विनाको सामानसहित दुईजना भारतीय नागरीक पक्राउ परेको छ । शुक्रबार लालपत्ता कार्यालय अगाडि सिराहाबाट गाईघाटतर्फ आउदै गरेको को १ ज ३४४१ नम्बरको वीङगरलाई चेकजाच गर्ने क्रममा बिल विनाको सामानसहित उनीहरु प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सितामणी बस्ने ३५ वर्षीय रामेश्वर सहनी र ३२ वर्षीय रमेश सहनी रहेका छन् । उनीहरुको साथबाट चाईनिज मोबाईल–४३ थान, बुफर–६ थान, कुर्ता सुर्वाल–४७ थान, लेडिज ब्याग–२१ थान र लेडिज पर्स–९ थान बरामद भएको थियो । बरामद भएको सामानको मूल्य करिब ९९ हजार २३७ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
बरामद भएको सामान र दुवै भारतीय नागरीकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको डिएसपी गौतमले बताउनुभयो ।
