Sunday, May 3News That Matters

उदयपुरको समस्या समाधान गर्न सबै निकाय एक जुट बनौँ, एआईजी : राई

पूर्णपुष्टि, ६ फागुन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले उदयपुरको समस्या समाधानका लागि सबै निकायहरुको साथ सहयोग आवश्यक देखिएको जनाए । उदयपुरमा पछिल्लो समय सुरक्षाको क्षेत्रमा देखिएको समस्या बारे प्रहरी लगायत सबै सम्बन्धित क्षेत्रहरु एक जुट भै लागि पर्नु पर्ने राईको भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, सामाजिक अभियान्ता, ब्यापार ब्यवसाय, यी सबै निकायहरु एकजुट भए समस्याहरु कम हुदै जाने राईको बुझाई छ । आफु पनि यहि जिल्लाका वासिन्दा भएको नाताले आफुले सक्ने पहल प्रहरी प्रधान कार्यालयबाट गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले एक जुट हुन आह्वान गरेका हुन ।

शान्ति सुरक्षामा उदयपुरलाई सुरक्षित गर्न केन्द्रीय प्रहरीको तर्फबाट आफु सँधै सहयोग गर्ने  जनाए । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेका अन्तरक्रियामा बिभिन्न व्यक्तिहरुले उठाएको कुरालाई जवाफ दिँदै मुख्य तिन कुराहरु समस्याको रुपमा आएको बुझिएको उनले जनाए । उदयपुर जिल्लामा सबैभन्दा बढी लागु औषाधको समस्या साथै दुर्घटना, यौनजन्य अपराध र आत्माहत्याको पनि समस्या रहेको राईले बताए । यी समस्या सामाधान गर्न प्रहरीमात्रै काफि नरहने भन्दै सबै क्षेत्रहरु जिम्मेवार बन्न र एक जुट हुन जरुरी रहेको बताए ।

उदयपुरमा पछिल्लो समय दुर्घटना ब्यापक बढेको भन्दै यसलाई तत्काल समधान गर्न प्रहरीले आफ्नो तर्फबाट पहल गरिरहेको पनि जनाए । तर जनता र सवारी चालकहरु आफु पनि स्वयम शिक्षित नभए दुर्घटना कम हुन नसक्ने राईले जनाए । उनले दुर्घटना न्युनिकरणका लागि पहिलो इन्जीनियरिङ समस्या रहेको जनाए । सडकहरु बढी घुमाउरो, उकालो जस्ता समस्याले पनि दुर्घटना हुने गरेको राईले जनाए । यो सँगै दुर्घटना कम गर्न चालक र यात्रुहरु आफै सचेत र शिक्षत बन्नु पर्ने जनाए । चालकले आफ्नो जिम्मेवारप्रति अडि रहने र यात्रु तथा स्थानीइहरुले पनि लापर्वाहि रुपले हिडडुल, पशुचौपायाको अव्यवस्था जस्ता कार्य नगर्न सुझाए । यसको पछि भने प्रहरीले कार्वाही, चेकिङ, सचेतना बोर्डहरुको व्यवस्था जस्ता काम गर्ने उनको भनाई छ । यी काम गर्न सकेमा दुर्घटना न्युनिकरण हुने राईको बुझाई छ ।