
पूर्णपुष्टि, ६ फागुन ।
उदयपुरको वडा नंं ११ आधारभुत स्वास्थ्य सेवा केन्द्र नजिकै एउटा गाईघाट खानेपानी आयोजना उपभोक्ता समितिको भवन निर्माणमा लापर्वाही देखिएको छ । स्थानीयहरुका अनुसार कंमसल भवन निर्माण भैरहेको जनाए । हाल भवन निर्माणको काम पिलर उठाई, इटा गारो लगाउने काम भैरहेको छ । स्थानीयहरुले भवनको जग नै कमजोर र लापरवाहीढंगले बनाइएको जनाए । पिलरहरु सबै कमजोर बनेका छन् । पिलरको जडान भाग सबै कमजोर छन् स्थानीय सुरेन्द्र राईले भने, । गारोले नछेकेको एउटा पिलर भाँचिएको प्रष्ट देखिन्छ । अन्य पिलरको चर्किएको ठाउँहरुमा भने सिमेन्ट घोलेर लिप्ने काम भएको छ ।

भवन निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, गिटी, ढुंगा, फलामे रड प्रयोग मापदण्डविपरित रहेको स्थानीयको आरोप छ । पिलरजस्तो महत्वपूर्ण कुरा, जसले भवनलाई बलियो बनाउछ, त्यो नै अति कमजोर बनेको छ । पिलरमा सिमेन्टको मात्र कम, बालुवा बढि प्रयोग भएका छन् । पिलर ढुंगा जस्तो कडा हुनुपर्नेमा फोस्के ढुंगा जस्तो छ । सामान्य प्रेसरमै पिलर चोइटिनेगर्छ । भवनको इटा जडानमा पनि प्रयोग भएका मसलाको मात्रा कमसल छ । बालुवा, गिट्टी लगायत कमसल खालको प्रयोग छ । सिमेन्टले बनेका संरचनामा प्रशस्त पानीले भिजाउनुपर्ने हुन्छ तर पर्याप्त पानीनै लगाइएको छैन । भुकम्प प्रतिरोधात्मक बन्नु पर्ने भवनमा यस्तो लापरवाही र कमजोरीले ठुलो भ्रष्टाचारको संकेत गरेको देखिएको हो । यसमा खटिएका आयोजना र ठेकेदारतर्फका इन्जिनियरहरु, ठेकेदार, नगर कार्यपालिका र उपभोक्ता समितिको मिलेमतो हुनसक्ने स्थानीयहरुले संकेत गरेको छ ।

ठेकेदार कम्पनीतर्फका इन्जियनयर मौसम ठाकुरले काममा लापरवाही र कमजोरी भएको स्विकार गरेका छन् । नगरको वडा नं. ११, १२ र १३ लाई लक्षित रहेको आयोजनाको कुल बजेट संघीय सरकारको ३० करोड रहेको बुझिएको छ । सो बजेटले भवन, पाइप विस्तार र ट्यांकी निर्माण गर्नुपर्दछ । हाल पहिलोचरणमा १७ करोड बजेटको काम ठेक्का प्रक्रियाबाट भइरहेको उपभोक्ता समितिले जनएको छ । तर, काम भने यतिसम्मको चरम लापरवाही र कमजोर देखिएको छ । यसप्रति उभोक्ता र सरोकारवालाहरुले बेलैमा खबरदारी र निगरानी गर्न आवश्यक छ ।
