
पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा कोशी प्रदेश सरकारले आम सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनाएको विधेयक मस्यौदामा व्यापक छलफल तथा सुझाव संकलन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र उदयपुर जिल्ला शाखाको समन्वय रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारी उपस्थित थिए भने सभाध्यक्षता नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले गरेका थिए। सहभागीहरूले विधेयकको नाम परिवर्तन, विज्ञापन वितरण प्रणाली, पत्रपत्रिका र अनलाइन मिडियाको वर्गीकरण, दर्ता प्रक्रिया लगायतका विषयमा विभिन्न सुझावहरू दिएका थिए।
मन्त्री अधिकारीले सञ्चार प्रतिष्ठान ऐनको नामाकरण र व्यवस्थामा थप छलफल गर्नुपर्ने बताए। उनले पत्रकारको हक, हित र जिम्मेवारीको सन्तुलन खोज्नुपर्ने र सरकार तथा पत्रकारबीच सहकार्यको वातावरण बनाउनुपर्ने कुरामा जोड दिए। प्रजातान्त्रिक प्रक्रियाबाट ऐन निर्माण गर्ने र कोशी प्रदेशलाई सञ्चार क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्य राखिएको उनले बताए।
मन्त्री अधिकारीले भने, “वास्तवमा हाम्रो ऐन हामीले नै बनाइरहेको छौं। हामीलाई चाहिने कानुन हामी समेत सहभागी भएर बनाउँदैछौँ भन्ने अनुभूति पनि भयो, यसको स्वामित्व हामीले पनि लिन सकौँ।” उनले सरकार र पत्रकारबीच द्वन्द्वको भावना नहुनुपर्ने बताउँदै थपे, “सरकार चाहिँ प्रेसलाई नियन्त्रण गर्न खोज्ने र पत्रकार चाहिँ प्रेस स्वतन्त्रताको वकालत गरिरहने भन्ने जस्तो सरकार सञ्चारकर्मी भर्सेस भन्ने भावना उत्पन्न नहोस्। यो सरकार प्रेसको मामलामा अत्यन्त खुला छ।”
सरोकारवालाहरूको सहभागितामा विधेयक मस्यौदामा व्यापक छलफल र सुझाव संकलन गरी प्रदेशको सञ्चार क्षेत्रलाई थप व्यवस्थित, जवाफदेही र प्रभावकारी बनाउन लागेको हो । ।यस प्रक्रियाले प्रदेशमा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चार माध्यमको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।



