
पूर्णपुष्टि, असोज २७ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा सोमबार बिहान गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका बिहान ९ बजेर ५० मिनेटको समयमा इलामबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ९ च ८६६८ नं. को गुडिरहेको कारमा अचानक आगलागी भएको हो ।
कारमा चार जनाको परिवार सवार रहेका थिए । इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय कार चालक प्रेम कुमार सेन्चुरी, उनकी २७ वर्षीया श्रीमती अनिता सेनचुरी र १४ वर्षीय छोरा आयुष सेनचुरी सकुशल रहेको प्रहरीले जनाएको छ ।
तर सात वर्षीय कान्छो छोरा आरोन सेनचुरी सामान्य घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट सगमचोकबाट प्रहरी टोली खटिएर आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी किन भयो भन्ने विषयमा अनुसन्धान जारी छ ।
